पारसको उत्कृष्ट ब्याटिङमा नेपालले मलेसियालाई ७ विकेटले हरायो
असार २८, काठमाडाैं ।
कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी-२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ।
मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी-२० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोर हो। साथै टी-२० मा नेपाली ब्याट्सम्यानले प्रहार गरेको यो व्यक्तिगत उच्च स्कोर समेत हो।
उत्कृष्ट लयमा देखिएका पारसले ५० बलमा ८ चौका र ५ छक्का हिर्काए भने शरद भेषवाकारले नटआउट १६ रन जोडे।
बलिङमा मलेसियाका अनवार रहामानले २ विकेट लिए।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन जोडेको थियो।
मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का हर्काए। कप्तान अहमेद फायजले ४५ रन जोडे।
बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए।
Facebook Comments