एट्लेटिको मड्रिडसँग युभेन्टस स्तब्ध
फागुन ९, काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन युभेन्टसलाई २–० गोलले पराजित गरेको छ ।
एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले बलमा पकड जमाएपनि एट्लेटिकोका गोलकिप्परले उत्कृष्ट बचाउ गर्दा हार बेहोरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको हो । एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले गोल गरे ।
खेलको ७८औं मिनेटमा गिमिनेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै ८३औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–० गोलको अग्रतामा पुर्याए ।
यस जितसँगै एट्लेटिकोले घरेलु मैदानमा च्याम्पियन्स लिगको नकआउट खेलमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । दोस्रो लेग आगामी मार्च १३ तारिख युभेन्टसको घरेलु मैदानमा हुनेछ ।
Facebook Comments