अलैँची: उत्पादन बढ्दो बजार मूल्य घट्दो
![अलैँची: उत्पादन बढ्दो बजार मूल्य घट्दो](http://mail.enewsnepal.com/uploads/images/image_750x_6036442dc6c9a.jpg)
ताप्लेजुङ, १२ फागुन ।
ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ ।
प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए ।
शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक फेम्बुको गुनासो छ । आजभन्दा छ/सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको हुन्।
पछिल्लो केही वर्षयता सोचेजस्तो मूल्य नआएका कारण फाइदा लिन नसकेका किसानले यस वर्ष पनि उत्पादन वृद्धि भएको तर अलैँचीको मूल्य भने वृद्धि नभएकाले किसान मारमा परेका छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
जिल्लामा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले बताए । जिल्लामा अलैँची खेती गरिएको कूल ४ हजार ३० सय २ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताए । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन्।
यता हालको बजार मूल्यअनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्नै समस्या भएको फक्ताङलुङ गाउँपालिका–६ निवासी विर्ख लिम्बूले बताए । शुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने लिम्बूको भनाइ छ ।
यस वर्ष अलैँची बजारमा निस्कन थाल्दादेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलाग्राम) २४ हजार ५ सयमा कारोवार अलैँची जोन ताप्लेजुङका अध्यक्ष तथा वरिष्ठ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश अधिकारीले बताए ।
Facebook Comments