नेपालले सार्वजनिक गरेको नयाँ नक्साबारे भारतको प्रतिक्रिया : स्वीकार्य छैन

नेपालले सार्वजनिक गरेको नयाँ नक्साबारे भारतको प्रतिक्रिया : स्वीकार्य छैन

काठमाडौं, ७ जेठ । 
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर  बुधबार जारी गरेको नयाँ नक्साप्रति भारतले आपत्ति जनाएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको एउटा विज्ञप्तिमा नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।

सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं ।’  

संवादको  माध्यमबाट सीमासम्बन्धी समस्या समाधान गर्ने पूर्व सहमतिको उल्लंघन गर्दै भारतीय भूमी दावी गर्नेगरी आएको यो नक्सा स्वीकार्य नहुने प्रवक्ता श्रीवास्तवले भनेका छन् । 

मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा आज  सार्वजनिक गरेको हो।

भारतले नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

केही दिनअघि भारतले लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटोको उद्घाटन गरेपछि नेपाली भूमि मिचिएको भन्दै नेपालमा विरोध भएको थियो ।